युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, २३ जनाको ज्यान गयो

युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, २३ जनाको ज्यान गयो



किभ । रुसले युक्रेनको एउटा बाल अस्पतालमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा २३ जनाको ज्यान गएको छ । युक्रेनको राजधानी किभमा रहेको एक बाल अस्पताल लगायतका क्षेत्रमा भएको आक्रमणमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । रुसको क्षेप्यास्त्र आक्रमणबाट किभको बाल अस्पताल ध्वस्त भएको छ ।

यस्तै रुसले युक्रेनी सहर क्राइभी रिहमा गरेको अर्को आक्रमणमा १० जनाको ज्यान गएको र ३१ जना घाइते भएका बीबीसीको खबरमा उल्लेख छ । रुसले आक्रमणमा सबैभन्दा अत्याधुनिक हतियारमध्येको एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको युक्रेनी सेनाले जनाएको छ । किन्झाल ध्वनि गतिभन्दा १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । बिस्फोटका कारण शहरका भवन हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आज विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताउनुभएको छ । युक्रेन युद्धलाई लिएर अमेरिकामा हुन लागेको क्षेत्रीय सन्धी सङ्गठन नेटोको बैठक नजिकिँदै गर्दा रुसले युक्रेनमा भिषण आक्रमण गरेको हो ।