जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारबारे छानबिन हुन्छ : प्रधानमन्त्री

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारबारे छानबिन हुन्छ : प्रधानमन्त्री

सय दिनमा ७० प्रतिशत काम गरेको दाबी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुने र दोषीमाथि कारबाही हुने बताएका छन् ।

बुधबार सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए ।

‘हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्न आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने बताए । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ,’ उनले भने, ‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्व सक्रिय रहेको हामीले देखिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता प्रस्तुत गरेको बताए ।

“थालेका काम अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो,” उनले भने ।

उनले थालिएको कामको योजना बनाएर प्राथमिकता तोकिएको बताए । त्यसैका आधारमा कार्यसम्पादन सम्झौता गरिएको उनले सुनाए । उनले सबै मन्त्रालयले पहिलो, दोस्रो सय दिनमा गर्ने कामको सूची बनाएको पनि बताए ।

उनले पहिलो सय दिनमा गर्ने भनिएको ७० प्रतिशत काम भएको बताए ।

“पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।

उनले प्रकृति प्रतिकूल नभएको भए बाँकी ३० प्रतिशत काम पनि हुने सुनाए ।