इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो ।

आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ । यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ ।

आईसीसी द हेगमा अवस्थित स्थायी अन्तर्राष्ट्रिय अदालत हो जससँग नरसंहार, मानवताविरुद्धका अपराध र युद्ध अपराधका अभियोगमा व्यक्ति र नेताहरूविरुद्ध मुद्दा चलाउने अधिकार छ ।

अत्याचारहरूका लागि जिम्मेवार दुष्ट नेताहरूलाई कठघरामा उभ्याउन सकियोस् भन्ने उद्देश्यका साथ एक दशकभन्दा लामो प्रयत्नपछि सन् २००२ मा आईसीसी गठन भएकाे थियाे ।