भारी हिमपातले दक्षिण कोरियामा ५ जनाको मृत्यु

भारी हिमपातले दक्षिण कोरियामा ५ जनाको मृत्यु



सोल । दक्षिण कोरियामा बिहीबार दोस्रो दिन पनि भारी हिमपात हुँदा ५ जनाको ज्यान गएको छ । चिसोले देशभरको जनजीवन प्रभावित भएको छ ।

बुधवार सोल नजिकैको ग्योङ्गी प्रान्तमा कम्तीमा ५ जनाको हिमपातका कारण मृत्यु भएको रिपोर्ट गरेको छ । हिउँले थिचेर संरचना भत्किँदा चार जनाको र हिउँले सडकमा बस चिप्लिएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको हो ।

चिसोका कारण दर्जनौं उडानहरू रद्द गरिएका छन् । सार्वजनिक सेवा निलम्बित गरिएको छ । यद्यपि अवस्था सहज हुने संकेतहरू देखिएको समाचारमा जनाइएको छ ।

योनहाप समाचार एजेन्सीले सन् १९०७ मा रेकर्ड सुरु भएदेखि राजधानी सोलमा तेस्रो ठूलो हिमपात भएको जनाएको छ ।

‘आज धेरै हिउँ परेको छ’, ७३ वर्षीया ली सुकढजाले सियोलको सबैभन्दा ठूलो बजार नामडेमुनमा सुप खाँदै भनिन् ‘चिसो छ, तर एक कप तातो माछा केक सुपले मलाई न्यानो बनाउन मद्दत गर्छ ।’

बिहीबार बिहानसम्म सोलका केही भागहरूमा ४० सेन्टिमिटर (१६ इन्च) भन्दा बढी हिउँ जमेको थियो, जसले १४० हवाइ उडान रद्द गर्न बाध्य पारेको थियो ।

ग्याङ्वोन प्रान्तको मध्य सहर वोन्जुमा बुधबार साँझ राजमार्गमा ५३ सवारी साधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । सियोलको मुख्य एयरपोर्ट, इन्चेन सबैभन्दा बढी प्रभावित भएको हो ।

छिमेकी उत्तर कोरियामा पनि मंगलबार र बुधवारको बीचमा केही क्षेत्रमा १० सेन्टिमिटरभन्दा बढी हिउँ परेको कोरियाली केन्द्रीय टेलिभिजनले जनाएको छ ।