काठमाडौं । फ्रान्सका दुई तिहाइ नागरिक नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट देखिएका एक सर्वेक्षणले देखाएको छ । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउलाई प्रधानमन्त्री बनाएकोमा दुई तिहाइ नागरिक असन्तुष्ट देखिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
फ्रान्सेली साप्ताहिक पत्रिका ‘डु डिमान्चे’ का लागि आईएफओपीले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले प्रधानमन्त्रीको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् । आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका खबरमा उल्लेख छ ।
आईएफओपीका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम समर्थन देखिएको छैन । आईएफओपीका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा दुई हजार चार जना फ्रान्सेली जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।
राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैटौं र सन् २०२४ को चौथो प्रधानमन्त्री बायरोउ छन् । गएको डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रीमण्डलको निर्णय बुझाएका छैनन् । बायरोउले आफ्नो नयाँ टिम सप्ताहन्तमा वा क्रिसमसअघि कुनै पनि हालतमा तय हुने बताएका छन् ।
प्रतिक्रिया