बालकोटमा कान्छो छोरा र बाबु कोठामै मृत, जेठो छोरा बेपत्ता

बालकोटमा कान्छो छोरा र बाबु कोठामै मृत, जेठो छोरा बेपत्ता


ग्लोब नेपाल
972
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा कान्छो छोरा र बाबु कोठामै मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट छ । एउटै प्रकृतिबाट हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । घटनास्थलमा मुचुल्काको काम भइरहेको प्रहरीले जानकारी दिएको छ । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण आचार्य रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

मृत भेटिएका कुलप्रसाद भने हुलाकका कर्मचारी रहेको खुलेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार बाबु खोटाङबाट केही दिनअघि हुलाक विभागमा काम परेको भन्दै काठमाडौं आएका थिए ।

उनका दुई छोरा मिलन र प्रविण भने कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । विगत तीन वर्षदेखि दुई वटा कोठा भाडामा लिएर उनीहरू अध्ययन गर्दै आएका थिए । काठमाडौं आएका कुलप्रसाद पनि आफ्ना छोराहरूको कोठामा पुगेका थिए । गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर सुतेका थिए ।

उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।

कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।