काठमाडौं । डाक्टरको भेषमा घरभित्र प्रवेश गरेर लठ्याउने औषधि खुवाएर सुन र नगद चोरी भएको छ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर मीठा कुरा गर्ने युवकमार्फत् चोरी भएको हो । महोत्तरी घर भएका जितेन्द्र मण्डलले डाक्टर हुँ भनेर घरमा प्रवेश गर्ने र चोर्ने धन्दा सञ्चालन गरेको प्रहरीले जानकारी दिएको छ ।
ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल पछाडि एक वृद्धको घरमा उपचार गर्ने बहानामा प्रवेश गरेर उनले सुन र नगद लुटेर भागेका थिए ।
लुटमा संलग्न मण्डललाई नुवाकोटबाट पक्राउ गरेर काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् । स्वास्थ्य जाँच गर्न घरमा नै आउँछु भनेर उनले ती वृद्धलाई लट्ठ्याउने औषधी खुवाएर सुन र नगद चोरेर फरार भएको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएको छ ।
नुवाकोटमा लुट्न जाँदा उनी पक्राउ परेका हुन् । भक्तपुरको गाम्चा बस्दै आएका उनले सबैलाई ‘डाक्टर हुँ’ भन्ने गरेका थिए । उनको डेराबाट प्रहरीले विभिन्न प्रकारका औषधी बरामद गरेको छ ।
मण्डलले चोरेको सुन खरिद गर्ने जनकपुर र महोत्तरीका दुईजना सुन पसल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सातदोबाटो उनले १७ लाख बराबरको सुन र गहना चोरेर भागेका थिए । उनले चोरेको ८ तोला भन्दाबढी सुन पनि प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया