काठमाडौं । गत शुक्रबार काठमाडौं, थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर गम्भीर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने रोल्पा गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्रबहादुर खत्री हुन् । उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खत्रीविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ ।
युवती र आरोपी पूर्व परिचित हुन् । खत्री ५ वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको खत्रीले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीका अनुसार साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले चिन्दिनँ भनेपछि आवेशमा आरोपीले चक्कु प्रहार गरेका हुन् ।
खत्रीले बयानमा भनेका छन्, ‘सरुसँग पहिलादेखि नै चिनजान थियो, मैले विदेशबाट रकम पनि पठाइरहेको थिएँ । युवतीले बेवास्ता गरेपछि विवाद भएको हो ।’
प्रतिक्रिया