लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का



बेंसीसहर । लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको कडा झड्का महसुस भएको थियो ।

यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प गएका छन् ।

यसअघि २०७८ जेठ ५ गते विहान लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुलभुले केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्यूड स्केलको भूकम्पले मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिकाका करिब एक हजार घर पूर्णरूपमा क्षति भएको थियो । सो भूकम्पले दुई हजार घर आंशिक क्षति भएको थियो ।