काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ३ शिख्रका ३८ वर्षीय रामु कुमालको हत्या अभियोगमा उनकै श्रीमती २७ वर्षीय मेखमाया कुमाल पक्राउ परेकी छन् ।
सामान्य विवाद बढ्दै गएपछि हत्या सम्मको घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।
मेखमाया शनिबार दिउँसो बजार जाँदा घरबाट रामुले फोन गरेका थिए । तर मेखमायाले उठाइनन् ।
साँझ घर फर्किएपछि फोन किन नउठाएको भन्दै रामुले सोधिखोजी गरे । सोही विषयलाई लिएर दुई जनाबिच विवाद सुरू भएको थियाे ।
प्रहरीका अनुसार बजारबाट घर फर्किँदा नै मदिरा सेवन गरेर आएकी मेखमायाले घर आउँदा पनि नजिकैको पसलबाट मदिरा ल्याएर दुबैजनाले खाएका थिए ।
मदिरा खाएर सुतेकी मेखमायाले मध्यरातमा टाउकोमा दाउ प्रहार गरी रामुको हत्या गरेको प्रहरीले जनाएको छ ।
मेखमायाले आफैले श्रीमानको हत्या गरेको प्रहरीसामु स्वीकार गरेकी छन् ।
स्थानीयका अनुसार रामुसँग मेखमायाको तेस्रो विवाह हो भने रामुको चौथो विवाह हो ।
उनीहरूले गत चैत्रमा मात्र विवाह गरेका थिए । घरमा रामुका आमा, भाउजू, अघिल्लो श्रीमतीतर्फका छोरा रहेका थिए । उनीहरूले राति झगडाको आवाज सुने पनि सामान्य विवाद सम्झेर कोही नगएको प्रहरीसामु बताएका छन् ।
आइतबार बिहान मेखमाया आफैले रामुको हत्या गरेको बताएपछि परिवारले प्रहरीलाई खबर गरेका थियो ।
घटनाबारे थाहा पाएपछि गएको प्रहरी चौकी बल्कोटको टोलीले मेखमायालाई घरबाटै पक्राउ गरेको छ ।


प्रतिक्रिया