त्रिशूली नदी किनारमा सावधानी अपनाउन आग्रह

त्रिशूली नदी किनारमा सावधानी अपनाउन आग्रह



नुवाकोट । त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलबार बिहान ६:१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ ।

बाढीको सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले नदी आसपासका जोखिमयुक्त क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहने भएकाले सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ । त्रिशूली नदी रसुवा, नुवाकोट, धादिङ जिल्ला हुँदै बग्ने गर्छ ।

त्यसैगरी त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले पनि आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू-भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनेको हो ।