वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्जमा खानेपानीको हाहाकार



पर्सा । पर्साकाे वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् ।

चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सयभन्दा धेरै छ ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिए । ‘यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ’, उनले भने ।

वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गरे । ‘महानगर क्षेत्रमा खानेपानीको चर्काे अभाव झेल्दै आइरहेका छौँ’, उनले भने, ‘विगत तीन वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ ।’

उनले खानेपानीमन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्ने भए पनि समस्या समाधान गर्न नसकेको दुखेसो पोखे । वीरगञ्ज महानगर–२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताउछन् । ‘पानीको अभाव भन्दै सर्वसाधारणकाे गुनासो धेरै आइसक्यो’, उनले भने, ‘वडा कार्यालयकै पहलमा यही वर्ष दुई वटा बोरिङ खनेर पानी वितरण गरेका छौँ । तर पर्याप्त छैन ।’

वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोतसाधन भएकाले जनताको आवश्यकताअनुसार बोरिङ खन्न नसकिरहेको गुनासो गरे ।

वीरगञ्ज महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै धेरैजसाे चापाकाल सुक्खायाममा सुक्ने गरेको बताए ।

वीरगञ्ज महानगरका अनुसार अहिले यहाँको वडा नम्बर १, २, ११, १३, १६, २५, २६ लगायतका ठाउँमा पानीको अभाव छ । शाखा प्रमुख साहले चालू आर्थिक वर्षमा वीरगञ्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ भन्दा धेरै ठाउँमा डीप बोरिङमार्फत पानी उपलब्ध गराउँदै आएको बताए ।

‘५ देखि ६ लाख रुपैयाँ लागतमा ७५ वटाभन्दा धेरै बोरिङ खनेर सर्वसाधारणलाई पानी वितरण गर्दै आइरहेका छौँ’, उनले भने, ‘वीरगञ्जमा पानीको दीर्घकालीन समस्या समाधानका लागि सङ्घीय सरकारले एशियाली विकास बैंकसँगको साझेदारीमा खानेपानी आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।’

खानेपानी संस्थानले दैनिक झन्डै एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ । तर संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको छ ।

शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढङ्गले खानेपानी विस्तार गर्न नसकेको स्वीकार्नुभयो । चालू आवमा मात्रै यहाँका झन्डै ६ सय सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन् ।

३ सय ५० जनाभन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन् । खानेपानी संस्थानका महानगरभित्र १२ हजार जना ग्राहक छन् । वडा कार्यालयको सिफारिशमा संस्थानले ६ हजार ३ सय ७० रुपैयाँ लिएर नयाँ धारा जडान गर्दै आएको छ ।