रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङ खोलाको पानी खोल्न शुरू गरेको छ ।
ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारि तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न शुरू गरेको हो । स्थानीय सीमा सुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० वटाभन्दा धेरै कन्टेनर डुबेका छन् ।
यही असार २३ गते केरुङबाट सामान लिई फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर त्यही दिन राति आएको बाढीका कारण डुबानमा परेका हुन् ।
स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमा सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
नेपालतर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाण्डाै लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको ६ वटा ठूला ट्रक र चालू अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए । यसैगरी क्षतिग्रस्त अवस्थामा रहेका केही गाडीलाई अहिले सुरक्षित ठाउँमा सार्न लागेको उनले बताए ।
असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले ६ चिनियाँ, तीन नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीमा रहेका वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिए ।
यसैगरी रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित ६ नेपाली गाडी चालकसमेत गरी २० जनालाई बाढीले बगाएको छ ।
त्यस्तै बाढीले रसुवागढीमा रहेकाे सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको एक टिपर, सिमेन्ट घोल्ने मिक्स्चर एक, एक्स्काभेटर एक, रोलार एक र जीप एक वटा बगाएको छ ।
उनले भने, ‘खोलामा एक्कासी बाढी आए छ, नजिकै रहेका सुरक्षाकर्मीले सुरक्षित ठाउँतर्फ जान भन्दै कराउन थाले, हामी अत्तालिएर भाग्यौँ, भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने उम्केर घट्टेखोलातर्फ पुगी ज्यान जोगाउन सफल भयौँ ।’
यसैगरी गोसाइँकुण्ड गाउँपालिकापा–२ का अध्यक्ष कामी छिरिङ तामाङले भने, ‘बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो । डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ । त्यसपछि जोखिममा रहेका आफ्ना वडावासीलाई सजक रहन अनुरोध गर्याैँ, त्यही पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो, यहाँ अहिले हामी दुःखको अवस्थामा छौँ ।’
अध्यक्ष तामाङले समग्र क्षतिको यकिन विवरण तयार गरी बाढी पीडितलाई राहत दिन तथा काम विशेषले अहिले केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गरे ।
स्थानीयवासी पुरूषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीमा रहेकाे मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नेपालतर्फ आउने व्यवस्था मिलाइएको बताए ।
यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेलिकप्टरमार्फत गन्तव्यस्थानतर्फ पुर्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
उनका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवम् असहायको सहयोगमा तैनाथ रहेका छन् ।
बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मका धेरैजसाे सडक खण्ड ध्वस्त भएपछि पूर्णरूपमा सडक अवरुद्ध भई त्यस क्षेत्रको जनजीवन सुनसान रहेको छ ।
वडाध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम शुरू भएको तथा स्थानीयवासी एवम्क र्मचारी भयभित अवस्थामा रहेको अवस्था छ ।


प्रतिक्रिया