काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ । उनले आफूहरु सधैं शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताएका छन् ।
यदि युक्रेन र पश्चिमी देशहरु वार्ताको मार्ग अपनाउन तयार छन् भने आफू पनि तयार रहेको राष्ट्रपति पुटिनको भनाइ छ । यो भनाइले रूस–युक्रेन युद्धको अन्त्यका लागि कूटनीतिक प्रयासलाई पुनः सक्रिय बनाउने सङ्केत दिएको खबरमा उल्लेख छ । यद्यपि, युक्रेनी सरकार र उसका सहयोगी पश्चिमी देशहरू अझै कडा सर्तमा मात्र वार्तामा बस्ने अडानमा छन् ।
यसैबीच युद्धग्रस्त क्षेत्रहरूमा हिंसा यथावत् रहँदै आएको छ, तर पुटिनको यो अभिव्यक्ति शान्ति प्रक्रिया अगाडि बढाउन सम्भावित खाका हुनसक्ने विश्लेषकहरूले बताएका समाचारमा भनिएको छ । गएको सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ करको घोषणा गर्ने र युक्रेनलाई शक्तिशाली सैन्य हतियार दिने बताएका थिए ।
यसअघि ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन वा थप प्रतिबन्धहरुको सामना गर्न ५० दिनको समय दिएका थिए । युक्रेनमाथि लगातार हमला गरेको भन्दै ट्रम्प पछिल्लो समय पुटिनसँग चिढिएका थिए । तीन वर्ष अघि शुरु भएको रुस–युक्रेन युद्धमा अहिले सम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको छ ।


प्रतिक्रिया