काठमाडौं । बंगलादेशको राजधानी ढाकाको एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् । यो बंगलादेशमा विगत केही वर्षको सबैभन्दा भीषण हवाई दुर्घटना हो ।
स्थानीय समय अनुसार हिजो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एण्ड कलेज’ को भवनमा बंगलादेश एअर फोर्सको सेभेन जेट विमान खसेको हो ।
सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो । पाइलटले जनघनत्व कम भएको क्षेत्रतर्फ मोड्ने प्रयास गरे पनि विद्यालयमा खस्न पुगेको थियो ।
दुर्घटनाबारे विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका विशेष सहायक डा. सायेदुर रहमानका अनुसार ज्यान गुमाउनेमध्ये २५ जना बालबालिका छन् र अहिले ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
बंगलादेशको सरकारले देशभर शोक घोषणा गर्दै विशेष प्रार्थनाको कार्यक्रमको गरेको छ । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यो राष्ट्रका लागि गहिरो पीडाको क्षण भएकाे भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकाे खबरमा उल्लेख छ ।


प्रतिक्रिया