क्यामरुनमा राष्ट्रपति निर्वाचन : उम्मेदवारको सूचीबाट हटाइए विपक्षी दलका नेता

क्यामरुनमा राष्ट्रपति निर्वाचन : उम्मेदवारको सूचीबाट हटाइए विपक्षी दलका नेता



याउन्डे । क्यामरुनका विपक्षी दलका नेता मौरिस काम्तो अक्टोबर १२ मा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनको उम्मेदवारको सूचीबाट हटाइएका छन् । निर्वाचन आयोगमा बुझाइएका ८३ नाममध्ये १३ नाम मात्रै स्वीकार गरिएको छ ।

यसमा ९२ वर्षका वर्तमान राष्ट्रपति पल बिया पनि छन् । बिया आठौँ कार्यकालका लागि लड्दैछन् । तर यो सूचीमा ७१ वर्षका काम्तो छैनन् । आयोगले उनलाई हटाउनुको कारण दिएको छैन ।

पछिल्लो समय बियाको राजीनामाको माग उठिरहेको भए पनि आफूसँग क्यामरुनका जनतालाई दिनका लागि अझै कयौँ चिज भएको उनको दाबी छ । बिया गएको ४३ वर्षदेखि सत्तामा छन् ।

बियाका अन्य प्रतिस्पर्धीमा इसा चिरोमा बाकारे र बेलो बौबा माइगारी छन् । यी दुवै बियाका पूर्वसहयोगी हुन् । राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी अस्वीकृत भएकाहरूसँग यो निर्णयलाई संवैधानिक परिषद्मा चुनौती दिन दुई दिनको समय हुनेछ ।