अदिस अबाबा । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रूपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा निम्तिने चेतावनी दिँदै आएका छन् र युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेको छ ।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वको सरकारले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा सहायता निकायहरू गाजाको सीमा पार गर्ने विन्दुहरूमा वितरण गरिएको सहायता लिन र वितरण गर्न असफल भएको आरोप लगाएको छ ।
राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले इथियोपियामा आयोजित संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भिडियो सम्मेलनमार्फत भने, “जलवायु परिवर्तनले बालीनालीको उत्पादनमा कमी आएको र द्वन्द्वग्रस्त मुलुकमा आपूर्ति श्रृङ्खला पनि रोकिँदा र मानवीय सहायतामा बाधा भएको छ । द्वन्द्वले गाजादेखि सुडान र त्यसभन्दा बाहिर भोकमरी फैलाइरहेको छ ।”
“भोकमरीले अस्थिरतालाई बढावा दिन्छ र शान्तिलाई कमजोर बनाउँछ । हामीले भोकलाई युद्धको हतियारको रूपमा कहिल्यै स्वीकार गर्नु हुँदैन,” उनले भने । गाजा पट्टीमा, युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र २१ महिनाको युद्धले सिर्जना गरेको भयानक मानवीय अवस्थाले जकडिएको छ र इजरायलले मार्चदेखि मेसम्म सहायतामा पूर्णरूपमा नाकाबन्दी लगाएपछिस्थिति अझ खराब बनेको छ ।
नाकाबन्दी खुकुलो बनाएयता गाजामा पुग्ने सहायताको स्तर सहायता समूहको आवश्यकताभन्दा निकै कम भएको छ । आइतबार इजरायलले संयुक्त राष्ट्रसंघ र सहायता एजेन्सीहरूलाई भोकमरीको गम्भीर सङ्कटसँग जुध्नका लागि ‘रणनीतिक विराम’ सुरु गरेसँगै विश्व स्वास्थ्य सङ्गठनले कुपोषण ‘खतरनाक स्तरमा’ पुगेको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय (आइओएम) का क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले गत साता पत्रकारहरूलाई भने, “सुडान विश्वले सामना गरिरहेको सबैभन्दा ठुलो र सबैभन्दा कम स्मरण गरिएको मानवीय विपत्ति हो ।”
सन् २०२३ को अप्रिलदेखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र प्रतिद्वन्द्वी अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’का कमान्डर मोहम्मद हमदान डग्लोबिचको शक्ति संघर्षका कारण सुडान टुक्रिएको छ । यस युद्धमा दशौँ हजारको मृत्यु भएको छ भने ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।


प्रतिक्रिया