काठमाडौं । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिएकी छन् ।
ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प खुला रहेको बताएपछि उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उनले उत्तर कोरियालाई आणविक हतियार राष्ट्रका रूपमा अस्वीकार गर्ने कुनै पनि प्रयासलाई पूर्णरूपमा नमान्ने बताएको राज्य सञ्चारमाध्यमले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।
किमले आफ्ना दाइ र ट्रम्पबीचको ‘व्यक्तिगत सम्बन्ध’ ‘नराम्रो नभएको’ बताइन् तर भविष्यको कुनै पनि वार्तामा ‘आणविक निःशस्त्रीकरणको उद्देश्य पूरा गर्न’ प्रयोग नगर्न उनले चेतावनी दिइन् । यस्तै उनले आणविक निःशस्त्रीकरणको उद्देश्यले गरिने वार्तालाई ‘उपहास’ को रूपमा व्याख्या गरिने बताएकी छन् ।
उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौतामा पुग्नका लागि अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्प र उत्तर कोरियाली नेताबीच तीन पटक भेट भएको थियो । तर सन् २०१९ मा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाले यसको बदलामा के पाउने भन्ने कुरामा सहमति हुन नसकेपछि यसले आफ्नो आणविक कार्यक्रमलाई गति दिएको छ ।
ट्रम्पले उत्तर कोरियाली नेतासँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ बारे कुरा गरेको र प्योङयाङमा तेस्रो पुस्ताका शासकसँग पुनः वार्ता गर्न खोज्ने सङ्केत गरेकाे खबरमा उल्लेख छ ।


प्रतिक्रिया