गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन

गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन



तेल अभिभ । गाजा युद्ध अन्त्य गर्न र हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि इजरायलमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन् ।

आइतबार तेल अभिभको ‘होस्टेजेस स्क्वायर’ मा सबैभन्दा ठुलो भीड देखिएको थियो । प्रदर्शनका आयोजकहरूका अनुसार सरकारले गाजा सहरमाथि नियन्त्रण गर्ने योजना बनाएकाले हमासको कब्जामा रहेका करिब २० जना बन्धकहरूको जीवन जोखिममा परेको छ ।

बृहत् प्रदर्शनको एक भागको रूपमा एक दिने राष्ट्रिय हडताल पनि गरिएको थियो, जसका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द रहे । दिनभरको प्रदर्शनका क्रममा करिब ४० जनालाई पक्राउ गरिएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रदर्शनको आलोचना गर्दै यसले ‘हमासको अडानलाई अझ कठोर बनाउने’ र बन्धकहरूको रिहाइलाई ढिलो मात्र गर्ने बताएका छन् । यसैगरी, इजरायलका दक्षिणपन्थी मन्त्री बेजालेल स्मोट्रिचले पनि प्रदर्शनको निन्दा गर्दै यसलाई ‘हमासलाई फाइदा पुग्ने हानिकारक अभियान’ को संज्ञा दिएका छन् ।

यो राष्ट्रिय हडताल बन्धकका परिवार र युद्धको विस्तारको विरोध गर्ने अन्य समूहहरूको मागमा गरिएको थियो। बन्धक बनेका मातानकी आमा तथा ‘होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरम’ की प्रमुख व्यक्ति इनाभ जांगाउकरले समूहले ‘एक व्यापक र प्राप्त गर्न सकिने सम्झौता र युद्धको अन्त्य’ को माग गरेको बताइन् ।

तेल अभिभको भीडलाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले हाम्रो अधिकार माग्दैछौं – हाम्रा बच्चाहरू। इजरायली सरकारले न्यायपूर्ण युद्धलाई अर्थहीन युद्धमा परिणत गरेको छ ।’

उनले आफ्नो छोराको भिडियो सार्वजनिक भएपछि यो कुरा बोलेकी हुन् । उनले भावुक हुँदै भनिन्, ‘मेरो हृदय तृष्णाले जलिरहेको छ । मेरो मातानका कारण मेरो सम्पूर्ण हृदय जलिरहेको छ । मातान, म, र एक सम्पूर्ण राष्ट्र तिम्रो र सबै बन्धकहरूको लागि हामीले गर्न सक्ने सबै गरिरहेका छौँ ।’

यो प्रदर्शन इजरायलको युद्ध मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने र त्यसका बासिन्दाहरूलाई विस्थापित गर्ने निर्णय गरेको एक हप्तापछि भएको हो, जसको संयुक्त राष्ट्र सुरक्षा परिषद्ले निन्दा गरेको थियो ।