राजधानीका घर–घरमा मेलम्ची पानी

राजधानीका घर–घरमा मेलम्ची पानी

कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना निधन भएको १२ बर्षपछि पूरा


ग्लोब नेपाल
648
Shares

काठमाडौं । आइतबारदेखि मेलम्ची खानेपानी आयोजनाबाट दोस्रो पटक काठमाडौं उपत्यकाका घरघरमा पानी आउने भएको छ । गत असार १ गते र साउन १४ गते मेलम्ची खानेपानी आयोजनाको मुहानको बाँधमाथि भेरमान्थाङ्बाट ठूलो पहिरोसहित आएको बाँढीले खानेपानी आयोजनाको मुहानको संरचना पुरेपछि आयोजना मर्मत–संभार सकेर पुनः पानी काठमाडौं उपत्यकामा झारिएको हो ।

वैशाख ५ गते राति सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा आइपुगेको पानी पोखरी भरिएपछि आइतबारबाट वितरण गर्न लागिएको हो ।

यो आयोजनासँग नेपाली कांग्रेसको अभिन्न साइनो जोडिएको छ । यो आयोजना सम्पन्न गरेर राजधानीको खानेपानी समस्या समाधान गर्न तात्कालीन अन्तरिम प्रधानमन्त्री तथा २०४८ सालमा काठमाडौं १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)ले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

मध्यबानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय अगाडि आयोजित चुनावी सभालाई संबोधन गर्दै उनले भनेका थिए ,“राजधानीमा खानेपानीको ठूलो समस्या भयो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी ल्याएपछि खानेपानी संकट टर्छ । सडक पखाल्न पुग्ने गरी पानीको छेलोखेलो हुनेछ ।” तर तत्कालीन एमालेले उनको यथार्थपरक अभिव्यक्तिको विरोध ग-यो । त्यो चुनावमा उनलाई विजयी हुनबाट रोक्यो।

कांग्रेसका सन्त नेता भट्टराई त्यो निर्वाचनमा विजयी बनेको भए नेपालको राजनीतिले अलग्गै मोड लिनेमा कुनै शंका थिएन । उनी आफू सादगी थिए । निष्कलंक छविका भट्टराई आर्थिक र प्रशासनिक अनियमितताबाट पर थिए । उनीमाथि नेपालका सबै राजनीतिक दल र दाताहरुको विश्वास थियो ।

विभिन्न राजनीतिक दाउपेच चल्ने नेपालमा काठमाडौंबाट दोस्रो पटक निर्वाचन लडदा पनि उनलाई पराजित गरियो । २०५६ सालको निर्वाचनमा उनी पर्साबाट विजयी बनेर आए । छोटो समय दोस्रो पटक सरकारको नेतृत्व सम्हाले । तर त्यतिबेला नेपालको राजनीति आन्तरिक द्वन्द्वमा फसेको थियो । उनको नेतृत्व रहेको सरकारले पूर्णकाल काम गर्न पाएन ।

गत वर्ष पहिलोपटक मेलम्चीको पानी भृकुटी मण्डपको धारा खोलेर उद्घाटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मेलम्ची आयोजनाको परिकल्पनाकारको रुपमा किसुनजीको नाम सम्मानका साथ उच्चारण गरेकी थिइन् ।

मेलम्ची आयोजनाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी ल्याउन सकिन्छ । यही आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी मिसाएर थप दैनिक ३४ करोड लिटर पानी काठमाडौं ल्याउने तयारी छ । दैनिक ५१ करोड लिटर पानी थपिदा राजधानीको खानेपानी समस्या लामो समयसम्म समाधान हुनेछ ।

राजधानीको खानेपानी संकट टार्न मेलम्ची आयोजना उपयुक्त देख्नुहुने दूरद्रष्टा सन्त नेता किसुनजी हामी बीच हुनुहुन्न । २०६७ फागुन २० गते उनको निधन भयो । तर मुलुकको राजधानीलाई खानेपानी संकटमुक्त बनाउने उनको एक सपना पूरा भएको छ ।

एक बर्षमा संविधान निर्माण गरेर प्रतिनिधिसभाको निर्वाचन गराउन सफल सन्त नेता नेपाली राजनीतिक इतिहासमा छाता, सुरही र टिनको बाकसको बिम्बको रुपमा अंकित छन् ।

मेलम्ची आयोजना

  • विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
  • विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
  • विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
  • विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
  • विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत आयोजनालाई दुई भागमा विभाजन ( मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय)
  • विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
  • विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
  • विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
  • विसं २०७९ बैशाख ५: सुन्दरीजलमा दोस्रोपटक पानी आइपुग्यो
  • विसं २०७९ बैशाख ११: राजधानीबासीका घरघरमा मेलम्चीको पानी