इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान-अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो ।
विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो । चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी)का प्रमुख गफूर उर रहमानले शिन्ह्वालाई जानकारी दिँदै भने, “घाइतेको अवस्था अत्यन्तै गम्भीर छ ।”
विस्फोटको कारणबारे अहिलेसम्म यकिन विवरण प्राप्त नभए पनि सुरक्षा बलले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान सुरु गरिसकेका छन् । हालसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।
यस घटनापछि मुलुकका शीर्ष नेताले दुख प्रकट गरेका छन् । प्रधानमन्त्री शहबाज शरिफले विस्फोटको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनले दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री शरिफले भने, “बलुचिस्तानलाई अस्थिर पार्ने प्रयास कहिल्यै सफल हुन दिने छैनौं । दोषीलाई कानुनी कठघरामा उभ्याइने छ ।”


प्रतिक्रिया