काठमाडौं । अमेरिकापछि बेलायतले पनि अवैध अप्रवासीहरूलाई नियन्त्रण गर्न नयाँ योजना ल्याउने भएको छ ।
बेलायती प्रधानमन्त्री केअर स्टार्मरले डिजिटल परिचयपत्र (आईडी) को नयाँ योजनाले बेलायतमा अवैध रूपमा काम गर्न अझ गाह्रो बनाउने र देशको सिमानालाई अझ सुरक्षित बनाउने बताएको बीबीसीले जनाएको छ ।
लन्डनमा भएको एक सम्मेलनमा बोल्दै प्रधानमन्त्री स्टार्मरले लेबर पार्टी लगायत वामपन्थी दलहरूले अवैध आप्रवासनसँग सम्बन्धित मुद्दाहरूलाई नउठाएकाले आफ्नो पार्टीले कुनै पनि हालतमा सम्बोधन गर्नुपर्ने बताए । नयाँ प्रस्ताव अन्तर्गत बेलायतमा नयाँ काम शुरू गर्ने जो कोहीले पनि यो डिजिटल परिचयपत्र देखाउनुपर्नेछ ।
यसैबीच कन्जर्भेटिभ नेत्री केमी बडेनोचले यसलाई हताश कदमका रूपमा व्याख्या गरेका छन् । सरकारको डिजिटल आईडी योजनाले बेलायतमा बस्न र काम गर्ने अधिकार भएका मानिसहरूको निगरानी गर्न सक्षम बनाउने खबरमा उल्लेख छ ।
यस अन्तर्गत नयाँ काम शुरू गर्ने वा भाडामा घर लिँदा व्यक्तिले आफ्नो फोनमा यो परिचयपत्र देखाउनुपर्नेछ । यद्यपि यो प्रस्ताव कार्यान्वयन गर्न स्मार्टफोन वा राहदानी नभएका मानिसहरूलाई उनीहरूको अधिकारबाट वञ्चित नगरियोस् भनेर सुनिश्चित गर्न कानून र व्यापक परामर्श आवश्यक पर्ने खबरमा उल्लेख छ ।


प्रतिक्रिया