फिलिपिन्समा फेरि अर्काे आँधी, ९ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो

फिलिपिन्समा फेरि अर्काे आँधी, ९ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो



काठमाडौं । ‘कालमेगी’ पछि फिलिपिन्सले फेरि अर्काे आँधीको सामना गरिरहेको छ । सुपर टाइफुन ‘फङ–वङ’ आँधीका कारण ९ लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

‘कालमेगी’ आँधीका कारण झन्डै २ सय जनाको ज्यान गएको केही दिनपछि स्थानीय रूपमा ‘उवान’ भनेर चिनिने ‘फङ–वोङ’ आँधीको खतरा देखिएको हो ।

फिलिपिन्स मौसम विभागका अनुसार आँधीको प्रभावका कारण हावाको गति प्रतिघण्टा १ सय ८५ किलोमिटरदेखि २ सय ३० किलोमिटरसम्म पुग्ने अनुमान छ । यो आँधी उत्तरपश्चिम दिशातर्फ सर्दै अरोरा वा इसाबेला प्रान्तको तटमा स्थानीय समयानुसार आज बेलुका वा भोलि बिहान अवतरण गर्न सक्ने खबरमा उल्लेख छ ।

नागरिक सुरक्षा कार्यालयका अनुसार ३ करोडभन्दा धेरै मानिस प्रत्यक्ष रूपमा ‘फङ–वोङ’ को खतरामा पर्न सक्ने सम्भावना छ । ‘फङ–वोङ’ आँधी नजिकिँदै जाँदा देशका धेरै पूर्वी शहर र गाउँहरूमा बिजुली आपूर्ति पूर्णरूपमा बन्द भएको छ ।

हावा र वर्षाको तीव्रताका कारण धेरै ठाउँहरूमा सम्पर्क र सञ्चार अवरुद्ध भएको छ जसले उद्धार र राहत कार्य कठिन बनाइरहेको छ । उत्तरी प्रान्तका अधिकारीहरूले सोमवार र मङ्गलवार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्न आदेश दिएका छन् ।