भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग

भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग



ढाका । बंगलादेशको विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतीय मिडियामा आएको अन्तर्वार्तालाई लिएर ढाकास्थित भारतीय उपउच्चायुक्त पवन बदेहलाई स्पष्टीकरणका लागि बोलाएको छ । बीबीसी बंगला सेवाका अनुसार बंगलादेशले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको हो ।

बंगलादेशमा आफ्नो सरकार ढलेपछि शेख हसिना हाल भारतमा बसिरहेकी छन् । बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसले बुधबार साँझ एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यस खबरको पुष्टि गरेको छ ।

बीएसएसका अनुसार, बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘मानवता विरुद्धको अपराधमा मुद्दा खेपिरहेकी एक अभियुक्तलाई शरण दिनु र उनलाई बंगलादेशविरोधी बयान दिन तथा देशमा आतङ्कवादी गतिविधिहरूलाई भड्काउन अनुमति दिनु दुई देशबिचको द्विपक्षीय सम्बन्धका लागि उचित छैन ।’

बंगलादेशले भारतीय कूटनीतिज्ञलाई शेख हसिनाको मिडिया पहुँचलाई तुरुन्तै रोक्न भनेको छ । गत वर्ष सरकार विरोधी आन्दोलनपछि शेख हसिनाले देश छाड्नुपरेको थियो ।