जापानमा प्रहरीलाई भालुविरुद्ध हतियार प्रयोग गर्न अनुमति

जापानमा प्रहरीलाई भालुविरुद्ध हतियार प्रयोग गर्न अनुमति



टोकियो । टोकियोमा अमेरिकी दूतावासले समेत चेतावनी जारी गर्न प्रेरित गरेसँगै आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ ।

पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धी कानुन संशोधन गरी प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमति दिएको बताइएको छ ।

अप्रिलदेखि देशभर जनावरको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको जनाइएको छ भने लगभग दिनहुँ जसो भालुहरू घरभित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपर मार्केटहरूमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ ।

सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्या लगायतका कारणले आक्रमण बढी रहेको बताएका छन् ।

अधिकांश आक्रमणहरू भएका अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा बिहीबार एक समारोह आयोजना गरी प्रहरीलाई जनधनको सुरक्षाको लागि भालुहरूलाई गोली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो ।

गत हप्ताको घोषणा पछि हातहतियार सम्बन्धी नियमहरूमा परिवर्तन गरी बिहीबार देखि लागू भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी एएफपीले जनाएको छ ।

टोकियोस्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन पूर्ण रूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ ।

बेलायती सरकारले पनि यात्रुहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन आग्रह गरेको छ । पछिल्लो समयमा जापानमा नियमित रूपमा आक्रमणहरू भएका छन् ।

इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परेपछि रनवे करिब एक घण्टाका लागि बन्द हुँदा दुईवटा घरेलु उडानहरू ढिलाइ भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

जापानले पनि गत हप्ता देखि अकिता क्षेत्रमा सैनिकहरू तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकहरूलाई भालुहरूको सिकार गर्ने अनुमति भने दिएको छैन ।