काठमाडौं । हङकङको ताई पो क्षेत्रमा भएको आगलागीमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । ताई पो क्षेत्रमा रहेको वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्दा झन्डै २ जना मानिस हराइरहेका समाचार संस्था एएफपीले जनाएको छ ।
पत्रकार सम्मेलनमा हङकङका अधिकारीहरूले दशकौंपछि शहरको सबैभन्दा ठूलो आगलागीमा परि ७९ जना घाइते भएका र १६ जनाको शव भवनभित्रै रहेको बताएका छन् ।
बुधवार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदा ८ वटै आवासीय भवन ३६ घण्टाभन्दा धेरै समयसम्म जलेका थिए । सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यस बेला कम्तीमा १ सय ३५ जनाको ज्यान गएको थियो ।
पछिल्ला वर्षमा सुरक्षा उपाय कडा बनाइएकाले यस्ता दुर्घटना धेरै कम भएका भए पनि यस प्रकरणले पुनः सुरक्षा प्रणालीबारे कठोर प्रश्न उठाएको छ ।
यसैबीच भ्रष्टाचारविरोधी निकायले आगलागी भएको हाउजिङ कम्प्लेक्स परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितताबारे अनुसन्धान शुरू गरेको छ । प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्नसक्ने तरल सामग्री लापर्बाहीपूर्वक छोडिएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको छ ।
केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर–घर दौडेर आफूहरूलाई एकआपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।
हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ ।


प्रतिक्रिया