ट्रम्पको आपत्तिका बाबजुद भारतलाई ‘निर्बाध’ इन्धन आपूर्ति गर्न रुस तयार : पुटिन

ट्रम्पको आपत्तिका बाबजुद भारतलाई ‘निर्बाध’ इन्धन आपूर्ति गर्न रुस तयार : पुटिन



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिका बाबजुद भारतलाई ‘निर्बाध’ इन्धन आपूर्ति गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा पुटिनले भारतलाई इन्धनको ‘निर्बाध ढुवानी’ प्रदान गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसी तेल किन्ने काम बन्द गर्न ट्रम्पले भारतलाई दबाव दिँदै आउनुभएको छ । युक्रेनमा रुसको युद्धलाई आर्थिक सहयोग गरिरहेको तर्क गर्दै अमेरिकाले भारतलाई रुसी तेल खरिदमा थप २५ प्रतिशत कर लगाएको छ ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले पुटिनको प्रशंसा गर्दै भारत–रुस मित्रता नयाँ चुनौतीहरूका लागि तयार रहेको बताएका छन् । मोदीले पुटिनलाई भारतप्रतिको अटुट प्रतिबद्धताका लागि धन्यवाद दिँदै दुई देशको लामो समयदेखि रहेको सम्बन्धको प्रशंसा पनि गरे ।

यसैबीच भारत र रुसले रोजगारी, स्वास्थ्य, ढुवानी र रसायन क्षेत्रका सम्झौताहरू आदानप्रदान गरेका छन् । दुई देशबीच सन् २०३० सम्मको आर्थिक सहयोग कार्यक्रममा सहमति भएको छ । पुटिन र मोदीले पत्रकार सम्मेलनअघि हस्ताक्षर गरिएका सहयोग सम्झौताहरूको प्रशंसा गरेका थिए ।

पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका छन् । सन् २०२१ डिसेम्बरपछि पहिलो पटक भारत आउनुभएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गमा रहेकाे प्रधानमन्त्रीको निवाससम्म पुगेका थिए ।