मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ ।
मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो।
यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले ‘सभ्यता मेटाउने’ जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी समाचार एजेन्सी टाससँगको अन्तर्वार्तामा भने, ‘हामीले देखिरहेका समायोजनहरू… हाम्रो दृष्टिकोणसँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।’
उनले यसलाई ‘सकारात्मक कदम’ भन्दै मस्कोले थप विश्लेषण गर्ने बताएको छ ।
नयाँ रणनीतिले रुसप्रति नरम भाषा अपनाएको छ, जसले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ । उनीहरूले युक्रेन युद्ध अन्त्य गर्न पहल गरिरहेका बेला यसले मस्कोप्रतिको युरोपको अडानलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
दस्ताबेजमा युक्रेन द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासलाई युरोपेली सङ्घ (ईयू) ले रोकेको दोष लगाइएको छ र अमेरिकाले ‘रुससँग रणनीतिक स्थिरता पुनर्स्थापित गर्नुपर्ने’ जसले ‘युरोपेली अर्थतन्त्रहरूलाई स्थिर बनाउने’ दाबी गरिएको छ ।
रणनीतिमा विदेशी प्रभावसँग जुध्ने, सामूहिक बसाइसराइ रोक्ने र ईयूको कथित सेन्सरसिपको अभ्यासलाई अस्वीकार गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।
यसले ‘पश्चिमी पहिचान’ पुनर्स्थापना गर्नुपर्ने आह्वान गर्दै युरोप २० वर्ष वा सोभन्दा कम समयमा ‘अपरिचित’ हुने र यसका आर्थिक समस्याहरू ‘सभ्यतागत मेटाउने वास्तविक र कडा सम्भावनाले ग्रहण लागेको’ उल्लेख गरेको छ ।
यता, धेरै ईयू अधिकारीहरू र विश्लेषकहरूले यस रणनीतिको आलोचना गर्दै यसको अभिव्यक्ति स्वतन्त्रतामाथिको जोडलाई क्रेमलिनले प्रयोग गर्ने भाषासँग तुलना गरेका छन् ।
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले अमेरिका आफ्नो महत्त्वपूर्ण सहयोगी भए पनि ‘स्वतन्त्र समाजको सङ्गठनका प्रश्नहरू यस रणनीतिमा नपर्नु पर्ने’ बताएका छन् ।
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा ‘युरोप तिम्रो सबैभन्दा नजिकको सहयोगी हो, तिम्रो समस्या होइन’ भन्दै अमेरिकालाई सचेत गराएका छन् ।
डेमोक्रेट सांसदहरूले यो दस्तावेजले अमेरिकी विदेश सम्बन्धलाई भत्काउन सक्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया