इरानमा तीन वर्षयताकै भीषण प्रदर्शन, केन्द्रीय बैंकका प्रमुखले दिए राजीनामा

इरानमा तीन वर्षयताकै भीषण प्रदर्शन, केन्द्रीय बैंकका प्रमुखले दिए राजीनामा



काठमाडौं । इरानमा बढ्दो महँगी र मुद्रा संकटविरुद्ध हजारौँ जनता सडकमा उत्रिएका छन् । यो पछिल्लो तीन वर्षयताकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन भएको बताइएको छ । यसैबीच केन्द्रीय बैंकका प्रमुख मोहम्मद रजा फरजिनले राजीनामा दिएका छन् ।

राजधानी तेहरानको सादी स्ट्रिट र ग्रान्ड बजार इलाकामा व्यापारी र पसलेले समेत प्रदर्शनमा भाग लिएका छन् । केही स्थानमा पसल नै बन्द भएका कारण कारोबारसमेत प्रभावित बनेको छ । प्रत्यक्षदर्शीका अनुसार इस्फहान, शिराज र मशहदजस्ता ठूला शहरमा पनि विरोध प्रदर्शन भएका छन् ।

इरानी रियाल डलरका तुलनामा ऐतिहासिक रूपमा गिरावट भएर कमजोर बिन्दुमा पुगेका बेला यो प्रदर्शन भएको छ । जसबाट खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार डिसेम्बरमा महँगीदर ४२ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा खाद्यान्नमा मात्रै ७० प्रतिशतसम्म मूल्य बढेको छ ।

यो प्रदर्शन सन् २०२२ पछिको सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ । त्यसबेला २२ वर्षीय महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पुरै देशभरी हिंसा भड्किएको थियो । उनलाई प्रहरीले हिजाब नलगाएको आरोपमा नैतिक प्रहरीले पक्राउ गरेको थियो । सोमबार तेहरानका केही इलाकामा प्रदर्शन उग्र भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रदर्शनकारीले सरकारका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

गत आइतबार इरानको मुद्रा एक डलरको तुलनामा १४.२० लाख रियालसम्म गिरावट आएको थियो । सोमबार यसमा केही सुधार भएर १३.८० लाख रियाल प्रतिडलर भयो । मुद्रामा तीव्र गिरावटले महँगीदर बढ्दा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढिरहेको छ ।

हालै पेट्रोलको मूल्यमा बदलाब गरिएपछि अवस्था झनै बिग्रिने आशंका छ । केही विज्ञहरूले यसलाई हाइपरइन्फ्लेक्सन (अत्यधिक महँगी)तर्फ जाने संकेतका रूपमा लिएका छन् । इरानी मिडिया रिपोर्टमा सरकारले २१ मार्चबाट सुरु हुने इरानी नयाँ वर्षको समयमा कर बढाउन सक्ने बताएका छन् । जसबाट मानिसहरूको चिन्ता झनै बढेको छ ।