शान्ति सम्झौताको काम ९० प्रतिशत तयारी छ : जेलेन्स्की

शान्ति सम्झौताको काम ९० प्रतिशत तयारी छ : जेलेन्स्की



किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले चार वर्षदेखि युक्रेनमा चलिरहेको युद्ध समाप्त गर्न रुससँग हुन लागेको सम्झौताको ९० प्रतिशत काम तयारी भएको बताएका छन् ।

बिहीबार नयाँ वर्षको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । बाँकी १० प्रतिशतले शान्तिको भविष्य, युक्रेनको भविष्य र युरोपको भविष्य निर्धारण गर्ने उनको भनाइ छ ।

‘हामी तपाईंहरूमा र हाम्रो विजयमा विश्वस्त छौँ’ सम्बोधनका क्रममा उनले भने । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नयाँ वर्षको सम्बोधनमा आफ्ना सेनाहरूलाई ब्रिफिङ गरेका छन् ।

यसअघि बुधबार उत्तर पश्चिमी रुसको ताल भाल्डाई नजिकै रहेको पुटिनको निजी निवासलाई लक्षित गर्न युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गर्दै रुसले एउटा भिडियो फुटेज जारी गरेको थियो ।

युक्रेनले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गरेको थियो । आक्रमण फुटेजको आफूले पुष्टि गर्न नसकेको बीबीसीले बताएको छ ।