एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबको ऐतिहासिक कदम

एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबको ऐतिहासिक कदम



काठमाडौं । कृत्रिम बुद्धिमता अर्थात् एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबले ऐतिहासिक कदम चालेको छ । उसले रियादमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गरेको छ ।

यो डाटा केन्द्र मेगावाट क्षमताका हिसाबले विश्वकै ठूलो सरकारी स्वामित्वको केन्द्र बन्ने त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हेक्सागन डाटा केन्द्रको क्षमता ४ सय ८० मेगावाट रहने र दुई दशमलव आठ लाख वर्गमीटर क्षेत्रमा फैलिनेछ ।

साउदी डाटा तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्राधिकरणले सञ्चालन गर्ने यो परियोजनाले द्रुत रूपमा विस्तार भइरहेको इलेक्ट्रोनिक प्लेटफर्म र डिजिटल सेवाहरूका लागि अधिकतम उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

प्राधिकरणका अध्यक्ष अब्दुल्लाह बिन शराफ अल्घामदीले केन्द्रको उद्घाटन समारोहमा देशभित्र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विशेषज्ञता विकास गर्ने र अन्तर्राष्ट्रिय प्रविधि लगानी आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।

परियोजनाले साउदी भिजन सन् २०३० का उद्देश्यहरूसँग मेल खानेछ, जसमा ‘दिगो ज्ञानमा आधारित अर्थतन्त्र निर्माण र उन्नत प्रविधिमा विश्व नेतृत्व हासिल गर्ने’ लक्ष्य समावेश गरिएको छ ।