डाभोस (स्विट्जरल्यान्ड) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेतासँगको सम्भावित टकरावको वातावरणबिच डाभोस आइपुगेका छन् । ग्रिनल्यान्ड अधिग्रहण सम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबिचको ट्रान्स-अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ ।
विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिन अघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको भविष्यलाई लिएर उनको कडा अडान नै छलफलको केन्द्र बन्ने देखिएको छ । तर स्विस स्की रिसोर्टमा भेला भएका युरोपेली नेताले राष्ट्रपति ट्रम्पको आक्रामक धारणा विरुद्ध एकजुट प्रतिक्रिया जनाउने सङ्केत दिएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘बदमाशी’ विरुद्ध दृढतापूर्वक उभिने बताउनु भएको छ भने युरोपेली सङ्घ (इयु)ले अविचल र सामूहिक प्रतिक्रिया जनाउने प्रतिबद्धता व्यक्त गरेको छ । डेनमार्क नाटोको सहयोगी सदस्य रहेको सन्दर्भमा ग्रिनल्यान्ड अधिग्रहणका लागि कति टाढासम्म जान सक्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति ट्रम्पले ‘तपाईले पत्ता लगाउनु हुने छ’ भन्ने जवाफ दिएका थिए ।
ह्वाइट हाउस छोड्दा उहाँले डाभोस भ्रमणको अन्त्य कस्तो होला भन्ने आफूलाई निश्चित थाहा नभएको स्वीकार गरे । भ्रमणको सुरुआतमै राष्ट्रपतिको जेटमा आएको सानो विद्युतीय समस्याका कारण विमान फर्किनु परेको थियो र राष्ट्रपति तथा उनको टोली अर्को विमान प्रयोग गर्न बाध्य भएका थिए ।
विश्वका आर्थिक र राजनीतिक नेतृत्वको वार्षिक भेलामा राष्ट्रपति ट्रम्पले छ वर्षपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । उनको भाषण स्थानीय समय अनुसार दिउँसो २:३० बजे तय गरिएको छ । तर ग्रिनल्यान्ड सम्बन्धी महत्वाकांक्षाका कारण दशकौँयताकै सबैभन्दा ठूलो अमेरिका-युरोप मतभेद सतहमा आएको भन्दै उनले डाभोसमा यस विषयमा धेरै द्विपक्षीय भेटघाट गर्ने बताएका छन् ।
रूस र चीनसँगको रणनीतिक प्रतिस्पर्धाका कारण खनिज-धनी ग्रिनल्यान्ड अमेरिका र नाटो सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको राष्ट्रपति ट्रम्पको तर्क छ । पग्लँदो आर्कटिक क्षेत्रमा महाशक्तिबिच प्रभाव विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गएको उनको भनाइ छ । यसै सन्दर्भमा उनले डेनमार्कलाई समर्थन गर्ने आठ युरोपेली देशमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका छन्, जसले युरोपेली पक्षबाट अमेरिका विरुद्ध प्रतिकारको चेतावनी आएको छ ।
युरोपले अमेरिकी बजारमा ‘व्यापारिक बाजुका’ प्रयोग गर्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले ती धम्कीलाई अस्वीकार गरेका छन् । एक अन्तर्वार्तामा उनले युरोपले जस्तो सुकै कदम चाले पनि अन्ततः त्यसको असर उनीहरू तर्फै फर्कने दाबी गरे । आगामी केही दिनमै समाधान खोज्न सकिने सम्भावनासमेत उनले औँल्याएका छन् ।
मङ्गलबार डाभोसमा राष्ट्रपति म्याक्रोनले अमेरिकी प्रयासले युरोपलाई अधीनमा राख्न खोजेको आरोप लगाउँदै कर धम्की अस्वीकार्य भएको बताए । राष्ट्रपति ट्रम्पले म्याक्रोनले पठाएको सन्देश सार्वजनिक गरेपछि दुई नेताबिच थप कटाक्षपूर्ण वातावरण बनेको थियो । पछि राष्ट्रपति ट्रम्पले त्यस्तो कुनै बैठकमा सहभागी नहुने बताए भने राष्ट्रपति म्याक्रोनले औपचारिक बैठक तय नभएको स्पष्ट पारे ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिका-युरोप सम्बन्ध ‘तल झर्ने’ जोखिममा रहेको चेतावनी दिएका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने डाभोसमा ग्रिनल्यान्ड र डेनमार्कको पक्षमा स्पष्ट समर्थन जनाउँदै प्रशंसा पाएका छन् । उनले क्यानाडा दृढतापूर्वक डेनमार्क र ग्रिनल्यान्डसँग उभिएको बताए ।
ग्रिनल्यान्डका प्रधानमन्त्रीले मङ्गलबार करिब ५७ हजार जनसङ्ख्या रहेको आफ्नो समुदायलाई सम्भावित सैन्य चुनौतीका लागि तयार रहनु पर्ने बताएका छन् । लिथुआनियाका राष्ट्रपति गिटानस नौसेदाले मित्र राष्ट्रविरुद्ध अमेरिकाले कुनै कदम चाले त्यसले ‘नाटोको अन्त्य’ हुन सक्ने चेतावनी दिए ।
यसैबिच राष्ट्रपति ट्रम्पले आफूले नाटोका लागि अरू कसैभन्दा बढी योगदान दिएको दाबी गर्दै सहयोगी राष्ट्रको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन् । उनले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि प्रस्तावित तथाकथित ‘शान्ति बोर्ड’को पहिलो चार्टर घोषणा गर्ने तयारीसमेत गरेका छन्, जसको भूमिका गाजाबाट सुरु भए पनि कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मात्र सीमित नहुने देखिएको छ ।


प्रतिक्रिया