काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण जारी छ । शनिबार बिहानै रुसले युक्रेनको ऊर्जा प्रणालीमाथि अर्को ठूलो आक्रमण गरेको छ ।
यो आक्रमणपछि सम्पूर्ण युक्रेनमा करिब १२ लाख घर तथा भवन बिजुलीबाट वञ्चित भएका छन् भने तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झरेको छ ।
युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले राजधानी किभमा अबेर रातसम्म ३२ सयभन्दा बढी भवनमा ताप व्यवस्था ठप्प भएको बताएका छन् ।
बिहान यो संख्या करिब ६ हजार पुगेको थियो, जसलाई आपत्कालीन मर्मतमार्फत केही हदसम्म घटाइएको छ । उनले राजधानीमा १६० भन्दा बढी आपत्कालीन टोलीहरू ताप प्रणाली पुनःस्थापना गर्न व्यस्त रहेको बताएका छन् ।
ऊर्जा मन्त्री डेनिस श्मिहालले किभमा मात्र आठ लाखभन्दा बढी घरमा अझै बिजुली नभएको र चेर्निहिभ क्षेत्रमा करिब चार लाख मानिस अन्धकारमा रहेको बताएका छन् ।
लगातार आक्रमणको असर सामान्य जनजीवनमा देखिएको छ । धेरै क्षेत्रमा पहिलेदेखि नै केन्द्रीय ताप प्रणाली क्षतिग्रस्त थिए । ताप प्रणाली क्षतिग्रस्त हुँदा अपार्टमेन्टमा न्यायो पुग्न सकेको थिएन ।
नयाँ आक्रमणले अवस्था झन् खराब बनाएको बताइएको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले रुसले राजधानी किभसँगै देशका उत्तर–पूर्वका चार अन्य क्षेत्रलाई पनि निसाना बनाएको बताइन् ।
उनले सरकारले क्षतिग्रस्त बिजुली केन्द्रहरूको तीव्र मर्मत गरिरहेको, बिजुली आयात बढाइरहेको र वैकल्पिक ऊर्जा स्रोत जोड्ने काम भइरहेको उल्लेख गरिन् ।


प्रतिक्रिया