काठमाडौं । फिनल्यान्डका वैज्ञानिकहरूले तारविना हावामा बिजुली प्रवाह गर्न सफल भएका छन् । हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयको संयुक्त अनुसन्धान टोलीले तारको प्रयोग नगरि हावामार्फत नै बिजुली प्रवाह गर्न सफल भएका अमेरिकी सञ्चारमाध्यम टाइम म्यागजिनले जनाएको छ ।
वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरङ्ग, लेजर र रेडियो फ्रिक्वेन्सी प्रविधिको संयोजनबाट यो उपलब्धि हासिल गरेका हुन् । यस प्रविधिमा उच्च तीव्रताका ध्वनि तरङ्गले हावामा अदृश्य मार्ग निर्माण गर्छन् जसलाई ’अकुस्टिक वायर’ भनिन्छ । यी मार्गमार्फत विद्युतीय झिल्काहरू कुनै भौतिक सम्पर्कविना नै सुरक्षित रूपमा प्रवाह हुन्छन् ।
यो प्रयोग प्रारम्भिक चरणमा रहे पनि यसले भविष्यमा घर, उद्योग र इलेक्ट्रोनिक उपकरणहरूको स्वरूप नै परिवर्तन गर्ने सम्भावना देखाएको छ । यो प्रविधि व्यावहारिक रूपमा विस्तार हुन सक्यो भने बिजुलीको प्रवाहका लागि प्लग, तार र परम्परागत विद्युतीय जडानको आवश्यकता नै अन्त्य हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ ।
तर यस प्रविधिको व्यावसायिक उपयोग गर्न अझै धेरै चुनौतीहरू पार गर्नुपर्ने छ । ऊर्जा प्रवाहको दूरी र क्षमता बढाउनु, सुरक्षा सुनिश्चित गर्नु र लागत घटाउनु प्रमुख चुनौती हुन् ।
वायरलेस बिजुली प्रवाहले तार र केबलको जटिलता अन्त्य गर्ने, विद्युतीय दुर्घटनाको जोखिम घटाउने र स्थापना खर्च कम गर्ने सम्भावना छ । विशेषगरी चिकित्सा क्षेत्र, औद्योगिक स्वचालन र दुर्गम क्षेत्रमा रहेका उपकरणहरूका लागि यो प्रविधि अत्यन्त उपयोगी साबित हुनसक्ने विज्ञहरू बताउँछन् ।


प्रतिक्रिया