इजरायलले अल जजिरामाथिको प्रतिबन्ध ९० दिन थप्यो

इजरायलले अल जजिरामाथिको प्रतिबन्ध ९० दिन थप्यो



तेल अभिभ । इजरायलले देशभित्र अल जजिरा मिडिया नेटवर्कको सबै गतिविधिमाथि लगाइएको प्रतिबन्ध थप ९० दिनका लागि लम्ब्याएको छ । इजरायली सञ्चारमन्त्री श्लोमो कराहीले आइतबार हस्ताक्षर गरेको आदेशअनुसार अल जजिराका कार्यालय बन्द रहनेछन् भने प्रसारण तथा इन्टरनेट सेवा प्रदायक कम्पनी र युट्युबलाई समेत इजरायलभित्र नेटवर्कलाई सेवा दिन निषेध गरिएको छ ।

सन् २०२४ मे महिनामा गाजामा इजरायलको सैन्य आक्रमण तीव्र अवस्थामा रहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मन्त्रिपरिषद्ले अल जजिराको इजरायलभित्रको सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सुरक्षाका लागि खतरा ठहरिए विदेशी सञ्चारमाध्यमलाई अस्थायी रूपमा बन्द गर्न सकिने कानुन इजरायली संसद्ले पारित गरेपछि यो निर्णय आएको थियो । त्यसै वर्ष सेप्टेम्बरमा इजरायली सेनाले कब्जामा रहेको वेस्ट बैंकको रामल्लाह सहरस्थित अल जजिराको कार्यालयमा छापा मारी उपकरण र कागजात जफत गर्दै कार्यालय बन्द गराएको थियो ।

त्यसपछि डिसेम्बरमा इजरायली संसद्ले ‘अल जजिरा कानुन’ थप दुई वर्षका लागि विस्तार गर्‍यो । अलजजिरा अरबीका यरुशलेम र रामल्लाह ब्युरो प्रमुख वालिफ अल–ओमारीका अनुसार पछिल्लो निर्णय इजरायलको सञ्चार मन्त्रालयले नेटवर्कको प्रसारणलाई अझै पनि इजरायलको सुरक्षाका लागि हानिकारक ठानिरहेको बताएको नौ दिनपछि आएको हो ।

यसअघि नेतन्याहुले नेटवर्कविरुद्ध मानहानीपूर्ण आरोप लगाएको भन्दै अल जजिराले आपत्ति जनाएको थियो । कतारमा रहेको उक्त सञ्चार संस्थाले स्वतन्त्र पत्रकारितामाथिको दमन अन्तर्राष्ट्रिय तथा मानवीय कानुनविपरीत भएको उल्लेख गर्दै यस्ता कदमले आफूहरूलाई निष्पक्ष र साहसी रिपोर्टिङबाट रोक्न नसक्ने स्पष्ट पारेको थियो ।

आवश्यक परे सबै कानुनी उपाय अपनाउने चेतावनीसमेत अल जजिराले दिएको छ ।