इरानद्वारा अमेरिकालाई युद्धको चेतावनी

इरानद्वारा अमेरिकालाई युद्धको चेतावनी



पेरिस । इरानमा जारी सरकार विरोधी प्रदर्शनमा सुरक्षा फौजले गरेको दमनका क्रममा करिब छ हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा आधारित मानव अधिकार समूहले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सुरक्षा बलको कारबाहीमा परी अहिलेसम्म ५ हजार ८४८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

गत डिसेम्बरको अन्त्यमा आर्थिक संकट र मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन जनवरी ८ देखि इस्लामिक गणतन्त्रको सत्ता विरुद्धको जनआन्दोलनमा परिणत भएको थियो । अधिकारवादी समूहहरूले सरकारले १८ दिनसम्म इन्टरनेट पूर्ण रूपमा बन्द गरेर (ब्ल्याकआउट) प्रदर्शनकारीमाथि सिधै गोली प्रहार गरी ‘अभूतपूर्व दमन’ गरेको आरोप लगाएका छन् ।

मानव अधिकार कार्यकर्ता समूहका अनुसार मृत्यु हुनेमा २०९ जना सुरक्षाकर्मी समेत रहेका छन् । यसबाहेक १७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ, जसको अनुसन्धान भइरहेको छ । हालसम्म ४१ हजार २८३ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका–इरान तनाव र सैन्य चुनौती

इरानमा बढ्दो दमनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेपको विकल्प खुला रहेको बताएका छन् । अमेरिकाले यस क्षेत्रमा विमान वाहक पानीजहाज ‘युएसएस अब्राहम लिङ्कन’ सहितको ‘विशाल फ्लीट’ पठाएको छ ।

यसको जवाफमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले कुनै पनि वैदेशिक आक्रमणको ‘व्यापक र खेदजनक’ जवाफ दिने चेतावनी दिएका छन् । तेहरानको केन्द्रीय एङ्गेलाब स्क्वायरमा अमेरिकी विमान वाहक नष्ट भएको देखाइने गरी ‘अमेरिका विरोधी’ बिलबोर्डहरू राखिएका छन् ।

तथ्याङ्कमा मतभिन्नता र क्षेत्रीय असर

इरान सरकारले भने आफ्नो आधिकारिक तथ्याङ्कमा ३ हजार ११७ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ । सरकारले तीमध्ये अधिकांशलाई प्रदर्शनकारी वा ‘दङ्गाकारी’ द्वारा मारिएका निर्दोष नागरिक भनेर परिभाषित गरेको छ। तर, नेटब्लक्स जस्ता इन्टरनेट मोनिटरहरूले ब्ल्याकआउटका कारण दमनको वास्तविक तस्बिर अझै बाहिर आउन नसकेको जनाएका छन् ।

यसैबीच, सर्वोच्च नेता अयातुल्ला अली खामेनीले ‘राजद्रोहीहरूको कमर तोड्ने’ चेतावनी दिएपछि अवस्था थप तनावपूर्ण बनेको छ । लेबनानमा इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहले पनि इरानको समर्थनमा र अमेरिकाको विरोधमा प्रदर्शनहरू सुरु गरेको छ ।