काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो । निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन् ।
निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको थिए ।
यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।
‘यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउनुका साथै लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने कार्य गर्दछ,’ निवेदनमा भनिएको छ ।
यस घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएकाे छ ।


प्रतिक्रिया