काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने बताएका छन् । सर्लाही बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै आफू अहिले विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति भएको बताए ।
उनले भने, ‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु । महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु ।’
उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको समेत बताए । उनले आफूलाई काठमाडौं ४ का जनताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको भन्दै अर्को चुनावमा सर्लाही ४ का मतदाताले पनि त्यस्तै भन्ने परिस्थिति बनाउने जिकिर गरे ।
त्यसैगरी स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सुझबुझ गरेरै आफू मधेश झरेको बताएका हुन् ।
‘यहाँ समस्याहरू शिक्षामा छ, स्वास्थ्यमा छ, रोजगारीमा छ जुन कुरा देशसँग पनि जोडिन्छ। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले एकदम रोजेर, छानेर म यहाँको यहाँको माटोसँग म जोडिन्छु भनेर आएको हो,’ उनले भने ।
मधेशको मुद्दा थाहा पाउन, बुझ्न र भोलि त्यसका बारेमा लड्न, बहस गर्न सहज होस भनेर भित्रि मधेशको जिल्ला आफ्नो रोजाइमा परेको बताए ।


प्रतिक्रिया