बाँकेमा ५२ पुरुष उमेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँकेमा ५२ पुरुष उमेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला



बाँके । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चारजना महिला उमेदवारले प्रतिस्पर्धा गर्दै छन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाहले उमेदवारी दिएका छन् ।

केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टीबाट, महतरा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् ।

पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्छन् भन्ने पितृसत्तात्मक सोचलाई चुनौती दिँदै उमेदवारको लामो सूचीमा यी चार महिलाको नाम केवल संख्या मात्र नभई यो परिवर्तनको एउटा बलियो साहस भएको अधिकारकर्मी भोला महत बताउँछन् ।

महिलालाई समानुपातिक सूचीमा उमेदवार बनाउने राजनीतिक दलहरुको परम्परालाई चिर्दै धेरै पुरुष उमेदवारकाबीच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उमेदवारी दिँदै चारजना महिलाले निर्वाचन लड्ने साहस देखाएको उाको बुझाइ छ ।

राप्ती सोनारी–९ ढकेरी निवासी कृष्णा केसी यसअघि लुम्बिनी प्रदेशसभा सदस्यको रूपमा सफल कार्यकाल बिताइसकेकी छन् ।

विसं २०७४ र विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएकी केसीले यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशसभाबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएकी छन् ।

“प्रदेशमा बसेर धेरै काम गरियो, अब संघमा पुगेर जनताका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउने मेरो लक्ष्य छ”, उनले भनिन्, “शिक्षा, स्वास्थ्य र सामाजिक न्याय मेरो मुख्य एजेन्डा हुन् ।”

नेपालगञ्ज–१६ जैसपुर निवासी विद्या शर्मा स्थानीयस्तरमा सामाजिक कार्यमा निकै सक्रिय नाम हो । आमजनता पार्टीबाट उमेदवारी दिएकी शर्माले जनताको दैनिक समस्या र स्थानीय मुद्दालाई संसद्सम्म पुर्‍याउने अठोट लिएकी छन् । उनले भुइँ तहका समस्या समाधानका लागि राजनीतिलाई माध्यम बनाउन चाहेको बताइन् ।

खजुरा गाउँपालिका–३ सिर्जना टोलकी भूमि महतरा नेपाल मजदुर किसान पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा छिन् । तल्लो तहका मजदुर र उत्पीडित समुदायको उत्थान नै आफ्नो राजनीतिको केन्द्रविन्दु भएको उनले बताइन् । सामाजिक विभेद र उत्पीडन विरुद्धको लडाइँलाई चुनावी मुद्दा बनाएको उनको दाबी छ ।

बैजनाथ गाउँपालिका–४ बानियाभार निवासी भगवती शाहले कुनै दलको ओत नलागी स्वतन्त्र रूपमा उमेदवारी दिएकी छन् । समाजको स्तर उकास्न र वास्तविक जनसरोकारका विषयमा काम गर्न दलभन्दा माथि उठेर आफू मैदानमा आएको उनको दाबी छ ।