घोषणापत्र लेख्न विज्ञसँग छलफलमा एमाले

घोषणापत्र लेख्न विज्ञसँग छलफलमा एमाले



काठमाडौं । नेकपा एमालेको घोषणापत्र लेखनको काम द्रुत गतिमा अघि बढेको नेताहरूले जानकारी दिएका छन् । पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेख्ने काम अघि बढाएको हो ।

झापाबाट उम्मेदवारी दिएका ओली अहिले राजधानी फर्केर विज्ञसँग छलफलमा जुटिरहेका छन् । उनलाई साथ दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहित नेताहरू ईश्वर पोखरेल, विष्णु रिमाललगायत सक्रिय छन् ।

पार्टीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पनाअनुसार घोषणापत्र तयारी गरिरहेको शाहीले बताए । ‘नेताले दृष्टिकोण बताउँछन् । विज्ञले वैज्ञानिक आधार दिन्छन्,’ उनले भने, ‘हाम्रो पार्टीको दृष्टिकोण पूरा हुने वैज्ञानिक तथ्य र आधार के–के चाहिन्छ भनेर सबै पक्षसँग राय लिएर समृद्ध घोषणापत्र बन्नेछ ।’

शाहीले विज्ञबाट आएका रायलाई शीर्ष नेतृत्वले अन्तिम रूप दिएपछि सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।