दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई २० महिनाको जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई २० महिनाको जेल सजाय



काठमाडौं । दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय भएको छ । युनिफिकेशन चर्चबाट घुस लिएको आरोपमा पूर्व प्रथम महिलासमेतरहेकी उनलाई सियोल केन्द्रीय जिल्ला अदालतले सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

५३ वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएका थिए । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उहाँका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो ।

किम र युन दुवै सन् २०२४ को डिसेम्बर मा ‘मार्शल ल’ घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन् ।

अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट २ लाख अमेरिकी डलरभन्दा धेरै मूल्यका उपहार र नगद लिनुभएको थियो । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त २ वटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए ।

यस प्रकरणसँगै धार्मिक समूह युनिफिकेशन चर्चका नेता र केही शीर्ष नेताहरूमाथि पनि अनुसन्धान र सजायको प्रक्रिया अघि बढेको छ । अदालतका निर्णयहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको राजनीतिक सङ्कटलाई अझ गहिरो बनाएको देखिएको छ ।

अदालतले किमलाई सन् २०२२ को राष्ट्रपति चुनावअघि बिचौलियाबाट निःशुल्क जनमत सर्वेक्षण प्राप्त गरेको आरोपबाट भने सफाइ दिएको छ । यो चुनावमा उहाँका पति युन सुक योल विजयी भएका थिए ।