वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य बलको निरन्तर उपस्थितिका बिच ट्रम्पले एक विशाल नौसैनिक समूह तीव्र गति, शक्ति र उत्साहका साथ इरानतर्फ बढिरहेको बताएका छन् ।
ट्रम्पको यो भनाइले मध्यपूर्वमा तनावलाई नयाँ उचाइमा पुर्याएको छ । अमेरिकी दबाबको जवाफ दिँदै इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्ना सशस्त्र बलहरू ‘ट्रिगरमा औँला राखेर’ तयारी अवस्थामा रहेको र कुनै पनि जल वा थल आक्रमणको तत्काल र शक्तिशाली जवाफ दिने चेतावनी दिएका छन् ।
इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानले परमाणु हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । ट्रम्पको यो पछिल्लो चेतावनी इरानमा हालै भएका प्रदर्शनहरूमाथि सरकारले गरेको क्रूर दमनपछि आएको हो ।
इरानी मुद्राको अवमूल्यनका कारण सुरु भएको प्रदर्शनले पछि त्यहाँको धार्मिक नेतृत्वको वैधतामाथि नै संकट पैदा गरेको थियो । ट्रम्पले प्रदर्शनकारीहरूलाई सहयोग गर्ने वाचा गर्दै ‘सहयोग आउँदैछ’ भन्ने सन्देश समेत दिएका छन् ।
इरानमा जारी अशान्ति र दमनका कारण मानवीय क्षति निकै भयावह देखिएको छ । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार डिसेम्बरको अन्त्यदेखि सुरु भएको प्रदर्शनमा हालसम्म ५ हजार ९२५ प्रदर्शनकारीसहित ६ हजार ३०१ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।
इन्टरनेट बन्द गरिएको अवस्थामा थप १७ हजार मृत्युको खबरबारे अनुसन्धान भइरहेको छ । अर्कोतर्फ, नर्वेस्थित इरान ह्युमन राइट्सले भने मृतकको संख्या २५ हजार नाघ्न सक्ने भन्दै विश्व समुदायलाई सचेत गराएको छ ।


प्रतिक्रिया