काठमाडाैँ । युक्रेनमा देखिएको परमाणु सुरक्षासम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकायको बोर्ड बैठक शुक्रबार बस्ने भएको छ ।
रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता त्यहाँको ऊर्जा संरचना पटक–पटक क्षतिग्रस्त हुँदै आएको छ। यसले युक्रेनका परमाणु विद्युत् उत्पादन केन्द्रहरूमा आवश्यक विद्युत् आपूर्तिमा समस्या सिर्जना गरेको छ र सम्भावित परमाणु दुर्घटनाको चिन्ता बढाएको छ ।
यस अवस्थाप्रति चिन्ता जनाउँदै नेदरल्यान्ड्सको नेतृत्वमा १३ देशले युक्रेनको पछिल्लो अवस्था र त्यसले परमाणु सुरक्षामा पार्ने असरबारे छलफल गर्न बोर्ड बैठक बोलाउन आग्रह गरेका थिए । ती देशहरूले जनवरी २१ गते पठाएको पत्रमा युक्रेनको वर्तमान परिस्थितिले परमाणु सुरक्षामा गम्भीर र तत्काल जोखिम उत्पन्न गरिरहेको उल्लेख गरेका छन् ।
पत्रमा हालका आक्रमणले ऊर्जा पूर्वाधारमा थप क्षति पुर्याएको र यो परमाणु केन्द्रहरूको सुरक्षित सञ्चालनका लागि अत्यावश्यक रहेको बताइएको छ। गत साता चेर्नोबिल परमाणु विद्युत् केन्द्र केही समयका लागि बाह्य विद्युत् आपूर्तिबाट पूर्ण रूपमा विच्छेद भएको थियो ।
यस्तै, मार्च २०२२ देखि रुसी सेनाको नियन्त्रणमा रहेको जापोरिज्झिया परमाणु विद्युत् केन्द्र पनि द्वन्द्वको प्रत्यक्ष असरमा परेको छ । जापोरिज्झिया केन्द्रका सबै रिएक्टर बन्द अवस्थामा रहे पनि शीतलन प्रणाली र सुरक्षा संयन्त्र सञ्चालनका लागि निरन्तर विद्युत् आपूर्ति आवश्यक रहने विज्ञहरूले बताएका छन् ।
यसै कारण क्षतिग्रस्त वैकल्पिक विद्युत् लाइन मर्मत गर्न यसै महिनाको सुरुआतमा रूस र युक्रेनबीच सीमित क्षेत्रीय युद्धविराम गरिएको थियो । यसबिच, रूस र युक्रेनले एक–अर्कामाथि परमाणु दुर्घटनाको जोखिम बढाउने गतिविधि गरेको आरोप लगाउँदै आएका छन् । अन्तर्राष्ट्रिय समुदायले स्थिति थप जटिल नबनाउन संयमता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया