निर्वाचन लक्षित गर्दै वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

निर्वाचन लक्षित गर्दै वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

‘एक बुथ, सय युथ’ नारा दिएर सबै बुथमा खटाइने



काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ ।

भर्चुअल माध्यमबाट बसेको संगठनको केन्द्रीय समिति बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने गरी यस्तो रणनीति तय गरेको हो ।

चुनावअघि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने वाईसीएलका अध्यक्ष पुष्प ‌ओलीले बताए ।

यससँगै अन्तरपार्टी युवा, विद्यार्थी र जेन जेडको संयोजन गरेर संयन्त्र निर्माण गर्ने निर्णय भएको छ । सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमान्ड सेन्टर निर्माण गर्ने पनि निर्णय भएको अध्यक्ष ‌ओलीले जानकारी दिए ।

उनका अनुसार, ‘एक बुथ, सय युथ’ नारा दिएर सबै बुथमा खटाइने भएको छ । त्यस्तै, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, मतदान क्षेत्रका युवालाई सम्बन्धित क्षेत्रमा नै खटाउने वाईसीएलले तयारी गरेको छ ।

वाईसीएलको केन्द्रीय समिति बैठकलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिाखले सम्बोधन गरेका थिए । उनीहरूले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।