काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन् ।
उनले एउटा मानिसले आफ्नो जीवनमा जे-जति गुमाउन सक्छ ती सबै गुमाएको पनि उल्लेख गरेका छन् । ‘तर यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भने, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्ने मलाई थाहा छ । परिवर्तन अनिवार्य छ र भएर छाड्नेछ ।’
युवाहरूले उठाउँदै आएको भ्रष्टाचार अन्त्य, पारदर्शीता र बलियो सरकारका विषय आफूले ‘जनयुद्ध’देखि उठाएको पनि ‘प्रचण्ड’को भनाइ छ ।
मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि अहिलेको व्यवस्थाभन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उत्तम हुने दाबी उनको छ । साथै उनले आफू हार मान्न तयार नरहेको पनि उल्लेख गरेका छन् । ‘प्रचण्ड’ रुकुम पूर्वमा उम्मेदवार छन् ।


प्रतिक्रिया