राष्ट्रपति रामचन्द्र पौडेल टोकियोमा

राष्ट्रपति रामचन्द्र पौडेल टोकियोमा



टोकियो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन् ।

आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरे । जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन् ।

भ्रमणका क्रममा उनले माघ १९ गते सोमबार नै जापान सरकारले आयोजना गर्ने कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष समारोहमा भाग लिने कार्यक्रम छ । यो भ्रमणले दुई देशबीचको दशकौँ पुरानो मित्रता र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता हुने राष्ट्रपतिको यो भ्रमण राजनीतिक र कूटनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ ।