बलुचिस्तानमा पाकिस्तानी सुरक्षा कारबाहीमा १४५ लडाकु मारिएको दाबी

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा कारबाहीमा १४५ लडाकु मारिएको दाबी



इस्लामवाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा शृङ्खलाबद्ध आक्रमणपछि सुरु गरिएको ठुलो सुरक्षा कारबाहीमा कम्तीमा १४५ विद्रोही लडाकु मारिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

यो घोषणा आइतबार गरिएको हो । शनिबार प्रान्तका विभिन्न स्थानमा गोलीबारी र बम आक्रमणमा ३१ नागरिक र १७ सुरक्षाकर्मी गरी करिब ५० जनाको मृत्यु भएको थियो । मारिने नागरिकमा पाँच महिला पनि थिए ।

आक्रमणको जिम्मा प्रतिबन्धित पृथकतावादी सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो । त्यसपछि सरकारले बलुचिस्तानमा महिनौँसम्म लागू हुनेगरी कडा सुरक्षा प्रतिबन्ध लगाएको छ । यस अन्तर्गत सार्वजनिक सभा प्रदर्शनमा रोक, यातायात नियन्त्रण र सार्वजनिक स्थानमा अनुहार ढाक्ने कपडा प्रतिबन्ध लगाइएको छ ।

सेना र प्रहरीको संयुक्त कारबाहीमा १४५ लडाकु मारिएको प्रान्तका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटामा पत्रकारसँगकाे कुराकानीमा बताएका छन् ।

यसलाई उनले दशकौँ यताकै ठुलो क्षति भनेका छन् । उनका अनुसार मारिएकामध्ये केही अफगान नागरिक पनि छन् । पाकिस्तानी सेनाले शनिबार ९२ र शुक्रबार ४१ लडाकु मारिएको जनाएको छ ।

आक्रमणबारे पहिल्यै सूचना दिइएकोले पूर्व कारबाही थालिएको बुग्तीले बताए । उनले अफगानिस्तान र भारतले बीएलएलाई समर्थन गरेको आरोप लगाए पनि दुवै देशले त्यसलाई अस्वीकार गरेका छन् ।