काठमाडौं । इजरायल सरकारले इजिप्टसँगको सीमामा रहेको गाजाको रफाह सीमा नाका खोलेको छ । झन्डै २ वर्षदेखि बन्द रहेको सो नाका सोमबार खोलिएको हो । मानिसहरूको आवागमनलाई खुला गरेपछि इजरायलले कठोर नियन्त्रणमा सो सीमा खुलाएको छ ।
तर हरेक दिन यस सीमा भएर एक दर्जन मानिसलाई मात्रै आवतजावत गर्न दिइने बताइएको छ । मानवीय सहायता र व्यवसायीक सामाग्रीको ओसारपसार भने अझै पनि बन्दै रहेको छ ।
२०२४ को मेमा इजरायलले प्यालेष्टिनी क्षेत्र कब्जामा लिएपछि यो सीमा बन्द थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा युद्ध विरामको योजनाको यो मुख्य बुँदा थियो ।
झन्डै २० हजार बिरामी र घाइते प्यालेष्टिनीहरू गाजाबाहिर जान पर्खिरहेका छन् । तर हरेक दिन ५० जना बिरामी (दुई जना आफन्तको साथमा) लाई मात्रै यहाँबाट बाहिरिन दिइने इजरायली सञ्चार माध्यमले समाचार छापेका छन् । गाजा युद्धको समयमा भागेका १० औँ हजार मानिसमध्ये हरेक दिन ५० जनालाई मात्रै फर्किने अनुमति दिने पनि बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हमासको नियन्त्रणमा रहेको क्षेत्रबाट बिरामीहरूको स्थानान्तरणको निरीक्षण गर्नेछ, इजरायली सेनाको नियन्त्रणमा रहेको क्षेत्र हुँदै बसबाट नाकासम्म बिरामीलाई पुर्याइने बुझिएको छ ।
युद्ध विराम सम्झौता अन्तर्गत इजरायली नियन्त्रित क्षेत्रलाई चिन्ह लगाउने पहेँलो रेखा पार गर्ने जो कोहीलाई आगो लगाइने इजरायली रक्षा मन्त्री इजरायल काट्जले चेतावनी दिएका छन् । रफाह सीमा युरोपेली सङ्घका पर्यवेक्षकहरू र स्थानीय प्यालेष्टिनी कर्मचारीहरूद्वारा सञ्चालित हुनेछन् ।
इजरायलले यसलाई टाढाबाट सुरक्षा जाँच गर्ने भनिएको छ । आइतबार इजरायली अधिकारीहरूले सीमानाका परीक्षण उद्घाटनका लागि केही बेर खुला गरेका थिए ।


प्रतिक्रिया