काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्र समर्थक चर्चित उद्योगपति तथा सञ्चार उद्यमी जिमी लाईलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घनको अभियोगमा २० वर्ष जेल सजाय सुनाएको छ ।
डिसेम्बरमा दोषी ठहर गरिएका लाईलाई आज सजाय तोकिएको बीबीसीले जनाएको छ । यो सजाय हङकङमा चीनद्वारा लागू गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत अहिलेसम्मकै सबैभन्दा कडा सजाय मानिएको छ ।
चीनले यो कानुनलाई हङकङको स्थिरता र सुरक्षाका लागि आवश्यक भएको दाबी गर्दै आएको छ ।
ब्रिटिश पासपोर्ट धारक जिमी लाई बेइजिङका कट्टर आलोचकका रूपमा चिनिन्छन् । उनले आफ्नो प्रजातन्त्र समर्थक पत्रिका ‘एप्पल डेली’ मार्फत चीनविरुद्ध आवाज उठाउँदै आएका थिए ।
यही पत्रिकालाई उनले विरोधको माध्यमका रूपमा प्रयोग गरेको अभियोग लगाइएको थियो ।
अदालतले ‘एप्पल डेली’ का पूर्व ६ जना कार्यकारी अधिकारीहरूलाई पनि ६ वर्ष ९ महिनादेखि १० वर्षसम्मको जेल सजाय सुनाएको छ । प्रजातन्त्र समर्थक आन्दोलनले जिमी लाईलाई नायकका रूपमा हेर्ने गरेको छ भने चिनियाँ प्रशासनले उनलाई देशद्रोहीको संज्ञा दिएको छ ।
तर, लाईले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले हङकङका मूल्यहरू कानुनको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारका लागि मात्र आवाज उठाएको दाबी गरेका छन् ।


प्रतिक्रिया