राष्ट्रसङ्घद्वारा दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा, सैन्य कारबाही रोक्न आह्वान

राष्ट्रसङ्घद्वारा दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा, सैन्य कारबाही रोक्न आह्वान



काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा गर्दै सबै पक्षलाई तत्काल सैन्य कारबाही रोक्न र वार्तामार्फत तनाव कम गर्न आह्वान गरेका छन् ।

महासचिवका उपप्रवक्ता फरहान हकले विज्ञप्तिमार्फत दक्षिण सुडानमा बढ्दो हिंसाका कारण चरम मानवीय सङ्कट सिर्जना भएको र दुई तिहाइभन्दा बढी जनसंख्यालाई जीवन बचाउने मानवीय सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा निरन्तर आक्रमण, मानवीय तथा स्वास्थ्य सुविधाको अभाव, लुटपाट, प्रमुख आपूर्ति मार्गमा आवागमन प्रतिबन्ध र असुरक्षाका कारण मानवीय सहयोग र आवश्यक सेवाहरू प्रभावित हुँदा नागरिकहरू गम्भीर जोखिममा परेको जनाइएको छ ।

डिसेम्बरको अन्त्यदेखि जोङ्लेई राज्यमा कम्तीमा ११ वटा स्वास्थ्य संस्थामा आक्रमण भएको र यसबाट जीवनरक्षक सेवामा अवरोध पुगेको विज्ञप्तिमा उल्लेख छ । आक्रमणका क्रममा एम्बुलेन्ससहित १२ वटा सवारीसाधन जफत गरिएको पनि जनाइएको छ ।

गत हप्तामात्र देशभर भएका घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को कार्यालयमा बारम्बार आक्रमण, मेडिसिन्स सान्स फ्रन्टियर्सद्वारा सञ्चालित अस्पतालमा हवाई आक्रमण, सेभ द चिल्ड्रेनको फिल्ड कार्यालयमा आगजनी तथा स्वास्थ्य केन्द्र ध्वस्त पारिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चिकित्सा तथा मानवीय कार्यविरुद्धका गतिविधिको निन्दा गर्दै यस्ता कार्य तत्काल रोक्न आग्रह गरिएको छ ।